लामाे कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच मध्यरात ७ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी सभापतिका रूपमा निरन्तर रहनेछन् भने बालेन रास्वपाकातर्फबाट फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुने भएका छन्।
सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यका लागि आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारिताका साथ कार्यान्वयन गर्ने उल्लेख छ ।
सहमति अनुसार बृहत् एकतापछि स्थापना हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो रङको गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृतिसहित रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ ।
त्यस्तै, रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई समुचित समायोजन गरिने, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमतिमा उल्लेख छ ।
सहमति अनुसार आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने निर्णय गरिएको छ ।
यो सहमतिलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको एकताका रूपमा हेरिएको छ ।
यस्तो छ ७ बुंदे सहमति
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने ।
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।