स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तीन दिनको अन्तरालमै दुवै धातुको मूल्य तीव्र रूपमा बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हिजो एकैदिन चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो । आज पुनः वृद्धि भई सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ । आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी हिजो पाँच हजार १९५ रुपैयाँ पुगेको थियो भने आज पाँच हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
व्यवसायीहरूका अनुसार अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ५८८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।