नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको अध्यक्षमा डा. मनोज कुमार गुप्ता पुनः निर्वाचित भएका छन् ।
वीरगंजमा शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान घोषणा गरिएको मतपरिणाम अनुसार, डा. गुप्ताले फराकिलो मतान्तरका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्षमा डा. गुप्ता २५९ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी डा. राजदेव कुशवाहाले १५७ मत मात्र प्राप्त गरे। डा. गुप्ता यसअघिपनि संघको अध्यक्ष रहेका थिए । उपाध्यक्षमा कुशवाहा प्यानलका डा. पशुपतिनाथ भट्ट २४९ मतसहित विजयी भए, जबकि गुप्ता प्यानलकी डा. तरन्नुम खातुनले १५८ मत मात्र प्राप्त गरिन् ।
सचिवमा कुशवाहा प्यानलका डा. विकास साह, सहसचिवमा गुप्ता प्यानलका डा. अजयकुमार यादव, कोषाध्यक्षमा कुशवाहा प्यानलका डा. रामाशंकर गुप्ता र सहकोषाध्यक्षमा गुप्ता प्यानलका डा. विवेक यादव निर्वाचित भएका छन् । सदस्यहरूमा डा. सुप्रिता गुप्ता, डा. रामप्रकाश ठाकुर, डा. दीपक चौरसिया, डा. आदित्यप्रकाश यादव, डा. विशाल साह र डा. विनिता सिंह निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि वीरगंजमा भएको निर्वाचनमा कुल ७६६ मतदाता रहेकोमा ४२० मत खसेको थियो ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत डाक्टरहरू आबद्ध छन् ।