जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा ओपनर मोइन अलीले अर्धशतक प्रहार गरे। उनी ५१ बलमा ५८ रन बनाएर अविजित रहे। उनले तीन चौका र तीन छक्का प्रहार गरे ।
मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए। हसनले ३९ बलमा ४० रन बनाएर अविजित रहे ।
जनकपुरले सात रन जोड्दा ओपनर त्रितराज दासलाई गुमाएको थियो। पाँच रन बनाएका दास आउट भएपछि ३७ रनको अवस्थामा मयन यादव पनि पभेलियन फर्किए । उनले नौ रन बनाए। त्यसपछि मोइन र हसनले संयमित ब्याटिङ गर्दै जनकपुरलाई जितसम्म पुर्याए। काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।
राहुलले काठमाडौंका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसहित कप्तान करण केसी तथा मोहम्मद आदिल आलमको विकेट लिए । जनकपुरका सैफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
ब्याटिङमा काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए ।
काठमाडौंले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो। टोलीले ६ रन जोड्दा साम हिजलेट र १९ रन पुग्दा हरिशंकर शाहको विकेट गुमायो । सामले एक र हरिशंकरले नौ रन बनाए । कप्तान करण केसी आठ, जहानदाद खान पाँच र रिपोन मोन्डल नौ रनमा आउट भए। मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्ल्यूको सिकार बने भने शाहब आलम चार रनमा अविजित रहे ।
जनकपुरले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। काठमाडौंलाई हराउँदै जनकपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।