सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरिसकेका व्यक्ति जिउँदै घर फर्किएपछि प्रहरी अन्योलमा परेको छ । मोरङको लेटाङ नगरपालिका–५, खेरुवाका ३७ वर्षीय पदमबहादुर राई अचानक घर फर्किएपछि घटनाबारे प्रहरीले पुनः अनुसन्धान थालेको हो ।
गत जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगा लगिएको थियो । उपचारकै क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो ।
मृतकको शव पहिचान खुल्न नसकेपछि कोशी अस्पतालको शवगृहमा राखिएको थियो । प्रहरीले मृतकका आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपछि पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन् ।
आमाले सनाखत गरेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो । परिवारले विधिपूर्वक अन्त्येष्टि गरिसकेको थियो भने दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको थियो। तर, मृतक भनिएका पदमबहादुर नै जिउँदै घर फर्किएपछि घटनाले नयाँ मोड लिएको छ ।
मोरङका प्रहरी प्रमुख काविद कटुवालले अन्त्येष्टि गरिसकिएका पदमबहादुर घर फर्किएको जानकारी दिए । उनका अनुसार प्रहरीले बिहीबार परिवारलाई कोशी अस्पताल बोलाएको छ । अब शव सनाखत गर्दाका कागजात फिर्ता लिने र दुर्घटनामा वास्तवमै मृत्यु भएका व्यक्तिको पहिचान तथा खोजी गर्नुपर्ने अवस्था आएको छ ।
प्रहरीका अनुसार पदमबहादुर २०८२ साल माघदेखि घर आएका थिएनन् । उनी परिवार तथा आफन्तलाई जानकारी नदिई घर छाडेर हिँडेको बताइएको छ । आफ्नै छोराजस्तो देखिएकाले आमाले शवको सनाखत गरेको हुन सक्ने प्रहरी प्रमुख कटुवालले बताएका छन् ।
पदमबहादुरले भने आफू लामो समयदेखि भारतमा रहेको दाबी गरेका छन् । उनको घर फर्किएसँगै दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान र शव सनाखतमा भएको त्रुटिबारे प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएको छ ।