वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको समयसीमा दिएको छ । महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन व्यवसायीलाई निर्देशन दिएको हो ।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका व्यवसायीलाई तोकिएको स्थानमा सर्न आग्रह गरेको छ । सूचनाअनुसार व्यवसायीले आगामी मंसिर २ गतेभित्र छपकैयास्थित थोक बजारमा अनिवार्य रूपमा स्थानान्तरण भइसक्नुपर्नेछ ।
महानगरपालिकाका अनुसार थोक बजार सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइसकिएको छ । विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन र उपभोक्ताको सहज पहुँचमा समस्या देखिएकाले सबै थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न वा बजार लगाउन रोक लगाइएको उल्लेख छ ।
महानगरपालिकाले तोकिएको समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । निर्धारित समयसीमाभित्र स्थानान्तरण नगर्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा स्पष्ट पारिएको छ ।
वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, बजार व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउने उद्देश्यले यो कदम चालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सबै थोक व्यवसायीलाई तोकिएको स्थानमै कारोबार सञ्चालन गर्न आग्रह गरेको छ ।
