वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक कारोबार नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ ।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन महानगरपालिका क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका व्यवसायीलाई निर्देशन दिएको हो ।
महानगरपालिकाका अनुसार विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन र उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुन सक्ने भएकाले थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको हो । थोक बजार सञ्चालनका लागि आवश्यक व्यवस्था गरिसकिएको पनि महानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनाअनुसार व्यवसायीले आगामी कात्तिक २ गतेभित्र छपकैयास्थित निर्धारित थोक बजारमा अनिवार्य रूपमा स्थानान्तरण भइसक्नुपर्नेछ । तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न वा बजार लगाउनसमेत महानगरपालिकाले रोक लगाएको छ ।
निर्धारित समयभित्र स्थानान्तरण नगर्ने व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ । तोकिएको समयसीमाभित्र बजार स्थानान्तरण नगर्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख छ ।
वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण रोक्ने, बजार व्यवस्थापन गर्ने र यातायात आवागमन सहज बनाउने उद्देश्यले व्यवसायीलाई निर्धारित स्थानमै कारोबार सञ्चालन गर्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ ।