पर्यटक भिसाको दुरुपयोग गरी क्रिश्चियन धार्मिक गतिविधि सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन् ।
गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितका नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेका थिए। उनीहरूका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ ।
विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार शिविरमा संलग्न विदेशी नागरिकका राहदानी तथा अन्य कागजात आवश्यक कारबाहीका लागि विभाग पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा १० जना विदेशी नागरिकसहितको टोलीले सेवा दिइरहेको थियो। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ ।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको जनाइएको छ ।
मोरङको कानेपोखरी–७, बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेका थिए। ती भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएको बताइएको छ । उक्त विषयलाई लिएर स्थानीयस्तरमा विवाद उत्पन्न भएपछि त्यसलाई मत्थर पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ ।
अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिक गत अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको बताइएको छ ।
पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ ।