वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा ११ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष खाद्यान्न आयातमा करिब २१ करोड रुपैयाँको गिरावट आएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खाद्य पदार्थको आयातमा सामान्य कमी देखिएको हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा ११ अर्ब ७८ करोड रुपैयाँ बराबरका १६ प्रकारका खाद्य पदार्थ आयात भएका थिए ।
चालु आर्थिक वर्षको छ महिनामा पाँच अर्ब ६८ करोड रुपैयाँ मूल्य बराबरको १५ करोड ४३ लाख किलो धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने छ अर्ब ९ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो ।
यसैगरी, चालु आवको पहिलो छ महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्यको मकै आयात भएको छ । त्यस्तै, एक अर्ब ६१ करोड रुपैयाँ बराबरको चामल र ३३ करोड रुपैयाँ बराबरको माल्ट आयात गरिएको छ ।
त्यसैगरी, २३ करोड ७३ लाख रुपैयाँ मूल्य बराबरका फापर, कोदो तथा अन्य खाद्यान्न सामग्री पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार आन्तरिक उत्पादनमा सुधार, मूल्य वृद्धिदरमा कमी तथा आयात व्यवस्थापन नीतिका कारण खाद्यान्न आयातमा केही कमी आएको हुन सक्ने अनुमान गरिएको छ ।