पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई थप तीव्र बनाएका छन् । उनले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीवीर्ता लगायतका क्षेत्रमा भव्य घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका छन् ।
घरदैलो कार्यक्रममा टेमानीले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवासम्बन्धी समस्याबारे जानकारी लिएका थिए । मतदाताका सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै उनले आफू निर्वाचित भएपछि ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए ।
उनले भने, “म नेता होइन, जनताको सेवक भएर काम गर्ने लक्ष्यमा छु। विगतको राजनीतिक अभ्यासभन्दा फरक र जवाफदेही शैलीको राजनीति आजको आवश्यकता हो ।”
वडा नम्बर २६ का मतदातासँगको संवादमा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकास योजना आवश्यक रहेको उल्लेख गरे । वीरगञ्जलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो । “जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्याउने प्रतिनिधि आजको आवश्यकता हो,” उनले थपे ।
घरदैलो अभियानमा सहभागी स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका छन् । लामो समयदेखि क्षेत्रमै निरन्तर सक्रिय रहँदै आएका उनले जनताको विश्वास जित्ने प्रयास गरिरहेका छन् ।
जसपा नेपालले पर्सा–२ लाई यसपटक रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिएको छ । त्यसअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवादमार्फत आफ्नो अभियानलाई प्रभावकारी बनाइरहेका छन् । उनी निरन्तर क्षेत्रमै रहँदै मतदातासँग घुलमिल भइरहेका छन्, जसले जनतामा विश्वास र उत्साह बढाएको छ ।
टेमानी मधेश प्रदेशका सफल उद्योगी व्यवसायीका रूपमा परिचित छन् । विगतदेखि सामाजिक सेवामा सक्रिय रहेका उनले नीतिगत तहमा पुगेर क्षेत्रीय समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नेतृत्व गरिसकेका टेमानी विभिन्न संघसंस्थामा अध्यक्षका रूपमा समेत कार्यरत रहँदै आएका छन् । उनी भाषणभन्दा काममुखी व्यक्तित्वका रूपमा परिचित छन् ।
घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिँदै आफ्नो अभियानलाई सशक्त बनाइरहेका टेमानीले पर्सा–२ मा जसपा नेपालको बलियो उपस्थिति र सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । उनका अभियानबाट मतदातामा विकास र सेवामुखी राजनीतिप्रति आशा जागेको देखिन्छ ।