पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाप्रति जनसमर्थन बढ्दै गएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै जाँदा उनले घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन् ।
चुनावी अभियानसँगै चौरसियाप्रति आकर्षण बढ्दै जाँदा विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेको संख्या पनि बढेको छ । पछिल्लो समय क्षेत्रका विभिन्न वडाबाट सुरु भएको पार्टी प्रवेश कार्यक्रम निरन्तर रूपमा जारी रहेको छ ।
यसैक्रममा शुक्रबार पोखरिया नगरपालिका वडा नम्बर ४ मा आयोजित कार्यक्रममा सयौंको संख्यामा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरूमा हरिशंकर प्रसाद चौहान, जितेन्द्र प्रसाद चौहान, मनिर अहमद, रामयाद राम, राजकुमार चौहान, धर्मेन्द्र राम, बाबुलाल रामलगायत सयौं जना रहेका छन् ।
चुनावी प्रचार–प्रसारमा सक्रिय रूपमा लागिरहेका चौरसियाले क्षेत्र नम्बर–३ अन्तर्गतका गाउँ–गाउँ र घर–घरमा पुगेर विभिन्न समुदायका अगुवा तथा स्थानीय व्यक्तिहरूसँग निरन्तर छलफल र संवाद गर्दै आएका छन् ।
उनले समुदायका अगुवा, बुद्धिजीवी, युवा, महिला तथा समाजसेवीहरूसँग भेटघाट गर्दै रास्वपाको नीति, सिद्धान्त, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउँदै चुनावी अभियानलाई तीव्र बनाएका छन् । यस क्रममा उनले पोखरिया नगरपालिकामा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।
स्थानीयस्तरमा देखिएका समस्या, गुनासा र अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । छलफल कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा सुशासनका विषयमा आफ्ना माग र सुझाव राखेका थिए ।
उम्मेदवार चौरसियाले जनताको आवाज नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै निर्वाचित भएपछि क्षेत्रको समग्र विकास र पारदर्शी शासन प्रणाली स्थापना गर्न दृढतापूर्वक लाग्ने बताए । पर्सा–३ मा रास्वपाको जनसमर्थन विस्तारका लागि उनले स्थानीय युवा, स्वयंसेवक तथा सामाजिक अभियन्ताहरूलाई समेट्दै घरदैलो, भेटघाट र जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन् ।