पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर–६ स्थित गमहरिया टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा कृषक तथा जेन्जी युवाहरूको उल्लेखनीय समर्थन र सक्रिय सहभागिता देखिएको थियो ।
घरदैलो क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार कानुले कृषकहरूका प्रमुख समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले तरकारी खेतीका लागि आवश्यक मल समयमै उपलब्ध गराउने, तरकारी भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) स्थापना गर्ने तथा उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउने व्यवस्था मिलाइने बताए ।
युवालाई लक्षित कार्यक्रमअन्तर्गत कानुले स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने, खेलकुद गतिविधिका लागि खेलमैदान निर्माण गर्ने तथा बेरोजगार महिला र युवाहरूका लागि प्राविधिक सीप तालिम र रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि बढाइने जानकारी दिए ।
साथै, स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्चस्तरीय सीप तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिने उनले बताए ।
कानुले यी सबै विषय स्थानीयवासीका आधारभूत आवश्यकता भएको उल्लेख गर्दै आफू निर्वाचित भएपछी चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रास्वपाको विकासमुखी तथा व्यवहारिक एजेन्डाप्रति चासो व्यक्त गर्दै समर्थन जनाएका थिए ।