आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले आज ताप्लेजुङको पाथीभरा र सदरमुकाम फुङलिङमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीसँग अन्तर्क्रिया गर्नुभएको छ।
बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ उपस्थित स्थानीयवासी तथा दर्शनार्थीसँग संवाद गर्नुभयो। उहाँले निर्वाचन सफल बनाउन सबै नागरिकलाई सक्रिय सहभागिताको आग्रह गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गर्नुभयो।
“म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ। तपाईँहरू सबैले मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला। यसपालिको चुनाव सामान्य नियमित चुनाव मात्र होइन, विशेष परिस्थितिमा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो।
उहाँले उपस्थित सर्वसाधारणका जिज्ञासाको जवाफ दिनुका साथै सामूहिक तस्बिरसमेत खिचाउनुभयो। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र पुजारी डिल्लीरमण पौडेललगायतले प्रधानमन्त्रीलाई स्वागत गर्नुभएको थियो।
त्यसपछि प्रधानमन्त्री कार्की सदरमुकाम फुङलिङ पुगेर सरकारी अधिकारीसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे छलफल गर्नुभयो। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम तथा सशस्त्र प्रहरी बलका गुल्मपति प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो।
प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार ९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा दुई अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ। तीमध्ये चार मतदानस्थल भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा रहेका छन्। हालसम्म मौसम सामान्य रहेको भए पनि हिमपात भएमा कर्मचारीको आवतजावतमा समस्या आउन सक्ने र मतपेटिका हेलिकोप्टरमार्फत ओसारपसार गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी गराइएको छ।
अहिलेसम्म जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको तथा चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिइएको थियो।
छलफलको समापनमा प्रधानमन्त्री कार्कीले शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययितालाई ध्यानमा राख्दै निर्वाचनलाई भविष्यका लागि मानक बन्ने गरी सम्पन्न गर्न निर्देशन दिनुभयो। “तपाईँहरूले निर्वाचनका लागि गर्नुभएको प्रयास सराहनीय छ। यसरी खटिएको देखेर मेरो आत्मविश्वास बढेको छ। यो चुनाव मुलुकलाई नयाँ चरणमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कोसेढुङ्गा हो,” उहाँले भन्नुभयो।
दुई दिने भ्रमण सकेर प्रधानमन्त्री कार्की आजै काठमाडौँ फर्किनुभएको छ।