म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा पेस गरेको विवरण अनुसार उनका चुनावी अभियानमा कुल २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको छ।
पुनले सबैभन्दा बढी खर्च होटलको खाना र बासमा १३ लाख ७ हजार रुपैयाँभन्दा बढी देखाएका छन्। त्यसैगरी, यातायात र मर्मतमा ६ लाख ६० हजार, डिजेलमा ३ लाख ६० हजार खर्च भएको विवरणमा उल्लेख छ।उनले आफ्नो चालकलाई १ लाख ४० हजार रुपैयाँ ज्याला भुक्तानी गरेको र प्रचारप्रसार सामग्रीमा २ लाख ९० हजार खर्च गरेको देखाएका छन्। यस्तै, मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, स्टेशनरीमा २५ हजार ३ सय र विविध खर्चमा ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ।
यसरी, पुनको चुनावी खर्च राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको तुलनामा बढी देखिएको छ। शाहले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनको कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ।
शाहले सबैभन्दा बढी खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्, जहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको देखाएका छन्। त्यस्तै, सबैभन्दा कम खर्च उनले उम्मेदवारी दर्तामा गरेका छन्, जहाँ १० हजार रुपैयाँ मात्र खर्च भएको छ।
यसरी सार्वजनिक भएको खर्च विवरणले दुई प्रमुख उम्मेदवारको अभियान रणनीति र प्राथमिकताका बारेमा स्पष्ट जानकारी दिएको छ।