हेटौँडा–नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख ९९२३ नं को कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३–००१ ख ०३९८ नं को ट्रक एकआपसमा ठोक्किएका थिए।
घाइते भएका कन्टेनर चालक, सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौँडाको सिएमसि चुरेहिल अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेका छन्, जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले ट्रक चालक, चितवनको खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेश्वर चौधरीलाई नियन्त्रणमा लिएको छ।
घटना स्थलमा प्रारम्भिक अनुसन्धान भइरहेको र ट्राफिक व्यवस्था सामान्य बनाउन प्रहरीले आवश्यक कदम चालिरहेको छ।