प्रतिनिधिसभा चुनाव २०८२ मा समानुपातिकतर्फ राप्रपाले ३ लाख ३० हजार ६८४ मत प्राप्त गरेको छ । थ्रेसहोल्ड कटाएसँगै राप्रपा संघीय संसदमा छैटौँ दल बनेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको छ भने समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ । यसरी प्रतिनिधिसभामा राप्रपाका जम्मा ५ सांसद हुनेछन् ।
समानुपातिकतर्फ प्राप्त ४ सिटमा संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन राप्रपाले कम्तीमा दुई जना महिला पठाउनुपर्ने देखिएको छ । बाँकी एक जना पुरुष पठाउन सक्नेछ ।
समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार ४ सिट पाउने दलले खस–आर्य समूहबाट कम्तीमा १ देखि बढीमा २ जनासम्म प्रतिनिधित्व गराउनुपर्नेछ । त्यसैअनुसार खस आर्यतर्फ एक वा दुई जना पठाउँदा महिलातर्फ पहिलो नम्बरमा रहेकी खुस्बु ओली र पुरुषतर्फ पहिलो नम्बरमा रहेका भरत गिरीलाई प्रतिनिधित्व गराउन सक्नेछ वा यी दुई जनामध्ये कुनै एक जनालाई मात्रै पनि प्रतिधित्व गराउन सक्नेछ । यद्यपि, दलको तर्फबाट संसदमा ३३ प्रतिशत महिला पुर्याउनका लागि पहिलो नम्बरमा महिलालाई प्राथमिकता दिनुपर्नेछ ।
आदिवासी जनजातितर्फ पनि १ देखि २ जना प्रतिनिधित्व गराउन पाउने व्यवस्था अनुसूचीमै उल्लेख छ । त्यसैअनुसार महिलातर्फ पहिलो नम्बरमा रहेकी सरस्वती लामा र पुरुषतर्फ पहिलो नम्बरमा रहेका तोरण बहादुर गुरुङलाई प्रतिनिधित्व गराउन सक्नेछ वा २ जनामध्ये कुनै एक जनालाई प्रतिनिधित्व गराउन सक्नेछ । यद्यपि, दलको तर्फबाट संसदमा ३३ प्रतिशत महिला पुर्याउनका लागि पहिलो नम्बरमा महिलालाई प्राथमिकता दिनुपर्नेछ ।
मधेशी समूहबाट एक जना पठाउन सक्नेछ, जसमा महिलातर्फ निरुपमा यादव र पुरुषतर्फ पहिलो नम्बरमा दीपकजंग ठाकुर छन् । उनीहरू दुई जनामध्ये एक जनालाई राप्रपाले प्रतिनिधित्व गराउनुपर्नेछ, जसमा महिला पहिलो प्राथमिकतामा पर्नेछन् ।
दलित समूहबाट १ जना पठाउन सक्नेछ, जसमा महिलातर्फ पहिलो नम्बरमा मीना विक र पुरुषतर्फ पहिलो नम्बरमा अम्बर परियार रहेका छन् । पार्टीले दुई जनामध्ये एक जनालाई पठाउन सक्नेछ । यद्यपि, महिलालाई भने प्राथमिकता दिनुपर्नेछ ।
सिट कम भएको र विकल्प धेरै भएकाले राप्रपाभित्र शीर्ष नेताहरूको तजबिजी चल्ने देखिएको छ । ‘हामी छलफलमा छौँ । आयोगले २ दिनको समय दिएको छ, समयसीमाभित्र काम सकिसक्छौँ,’ राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने ।