चुनावबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। दिउँसो बस्ने उक्त बैठकले समानुपातिक सांसद चयन तथा पार्टी विधान संशोधनसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सिट प्राप्त गरेका दलहरूलाई भोलिसम्म उम्मेदवारको नामावली टुंगो लगाई पेस गर्न बिहीबार नै पत्राचार गरिसकेको छ। प्रत्यक्ष निर्वाचनतर्फ १ सय २५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
आजको सचिवालय बैठकले समानुपातिक सांसदहरूको अन्तिम टुंगो लगाउने र विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा सिफारिस गर्ने तयारी गरेको जनाइएको छ। उक्त प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइनेछ। त्यसपछि प्रधानमन्त्री नियुक्तिको संवैधानिक प्रक्रिया प्रारम्भ हुने बताइएको छ।
रास्वपाको विद्यमान विधानअनुसार संसदीय दलको नेता पार्टीका सम्पूर्ण सदस्यहरूले मतदानमार्फत चयन गर्ने व्यवस्था रहेको छ। तर, निर्वाचनअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकिएको थियो।
शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रियालाई समय सान्दर्भिक र सहज बनाउन पार्टीले विधान संशोधन गर्न लागेको हो।