

बर्दियामा गुलरिया नाकाबाहेकका सबै सातवटा छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्व संकलन प्रभावित भएको छ । गत साउन १ गतेदेखि तारातालस्थित छोटी भन्सार कार्यालयसमेत बन्द भएपछि जिल्लाका सीमावर्ती नाकाबाट हुने वैध आयात–निर्यातको राजस्व संकलन ठप्प भएको हो ।
माओवादी सशस्त्र द्वन्द्वकालमा अन्यत्र स्थानान्तरण गरिएपछि बन्द भएका पडेरिया, गणेशपुर, कालाबन्जर, छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्जका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । गत आर्थिक वर्षको असारसम्म सञ्चालनमा रहेको ताराताल छोटी भन्सार पनि बन्द भएपछि जिल्लामा सदरमुकाम गुलरियास्थित छोटी भन्सार र राजापुरस्थित मूल भन्सार मात्रै सञ्चालनमा छन् ।
भन्सार कार्यालय राजापुरकी प्रमुख अनिता पौडेलले छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्व संकलन प्रभावित भइरहेको बताइन्। उनका अनुसार सीमावर्ती नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरका खाद्यान्न तथा कपडालगायतका उपभोग्य वस्तु आयात हुँदा पनि त्यसबाट प्राप्त हुने राजस्व संकलन हुन सकेको छैन।
भारतसँग ८३ किलोमिटर सीमा जोडिएको बर्दियाको करिब ९० प्रतिशत सीमावर्ती क्षेत्र घना भारतीय जंगलले ढाकेको छ। यसको फाइदा उठाउँदै तस्करी हुने गरेको भन्सार कर्मचारीहरू बताउँछन् । मुख्य नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ हुनुका साथै नियमित गस्ती हुने गरे पनि सुरक्षा निकायको उपस्थिति नभएका स्थानबाट चोरी–तस्करी हुने गरेको उनीहरूको भनाइ छ ।
भन्सार कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा राजस्व संकलनमा थप कठिनाइ भएको कर्मचारीहरूले गुनासो गरेका छन्। छोटी भन्सार कार्यालय बन्द हुँदा वैध कारोबार प्रभावित हुनुका साथै बरामद गरिएका तस्करीका सामान भन्सार कार्यालयसम्म पुर्याउनसमेत समस्या हुने गरेको सशस्त्र प्रहरीका एक अधिकारीले बताए।
तस्करीका सामान बरामदबाट राजस्व संकलन
भन्सार प्रमुख पौडेलका अनुसार सशस्त्र प्रहरी बलले भारतबाट हुने चोरी–तस्करीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाउने क्रमबाट वार्षिक राजस्व लक्ष्य पूरा गर्न सहयोग पुग्दै आएको छ। त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयबाट पनि राजस्व संकलन हुने गरेको उनले बताइन् ।
चालु आर्थिक वर्षमा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । भन्सार कार्यालयका सूचना अधिकारी प्रमोदकुमार महतोका अनुसार गत साउनयता सशस्त्र प्रहरीले १ करोड ६ लाख ५९ हजार रुपैयाँ बराबरका चोरी–तस्करीका सामान बरामद गरी बुझाएको छ ।
सोही अवधिमा नेपाल प्रहरीले ३३ लाख २३ हजार रुपैयाँ बराबरका तस्करीका सामान बुझाएको र भन्सार कार्यालयले ३ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको महतोले जानकारी दिए ।
ताराताल छोटी भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। उक्त कार्यालय बन्द भएपछि त्यस नाकाबाट हुने वैध आयात–निर्यातको राजस्व संकलन रोकिएको छ । सुरक्षा निकायले बरामद गरेका तस्करीका सामान भन्सारमा बुझाएपछि लिलाम प्रक्रियाबाट भने राजस्व संकलन हुने गरेको छ ।
जनशक्ति अभावले भन्सार सञ्चालनमा कठिनाइ
भन्सार कार्यालयमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाज प्रभावित भएको छ। कार्यालयमा एक जना भन्सार अधिकृत, छ जना नायब सुब्बा, एक जना लेखापाल, एक जना चालक र छ जना कार्यालय सहयोगीको दरबन्दी रहे पनि नायब सुब्बा चार जना र कार्यालय सहयोगी तीन जना मात्रै कार्यरत छन् ।
भन्सार अधिकृत पौडेलले जनशक्ति अभावका कारण राजस्व संकलनमा कठिनाइ भइरहेको बताइन् ।
सीमावर्ती क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा वैध व्यापारबाट राजस्व संकलन गर्ने अवसर गुमिरहेको छ भने बरामद गरिएका सामान गुलरियासम्म पुर्याउन सुरक्षा निकायलाई पनि झन्झटिलो हुने गरेको छ । छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन नसक्दा बर्दियाका सीमावर्ती नाकाको वैध व्यापार र राजस्व संकलन दुवै प्रभावित बनेका छन् ।