संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १० जना राजदूतको नाम नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिले साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठले बुधबारको बैठकमा सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका हुन् ।
सुनारको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गजला समीम मिकरानीले राजदूत पदका लागि उपयुक्त नलागेको बताएकी थिइन् । रास्वपा संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले पनि सुनारलाई राजदूत बनाउन नमिल्ने धारणा राखेका थिए ।
सभापति श्रेष्ठले सुनारको नाम सर्वसम्मतिले अस्वीकृत भएको घोषणा गरेका थिए ।
'नेपाल सरकारको निर्णयअनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि साउदी अरबका लागि प्रस्तावित श्री गिरिबहादुर सुनारको नामका सम्बन्धमा समितिमा भएको निर्णयअनुसार उहाँको नाम सर्वसम्मत रूपमा अस्वीकृत भएको घोषणा गर्दछु,' उनले भनेका थिए।
समितिबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ ।
अनुमोदित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई जानकारी पठाउन सभापति श्रेष्ठले समिति सचिवलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम प्रस्ताव गरेको थियो । ती नाम संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो । समितिले सोमबारदेखि बुधबारसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।
जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलका सम्बन्धमा भने समितिले थप छलफल गरिरहेको छ ।
भिडियाे रिपाेर्ट