धनकुटा जिल्ला मा सोमबार राति आएको हावाहुरीले सरकारी कार्यालय, विद्यालय, निजी घर तथा सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याउँदा लाखौँ मूल्य बराबरको नोक्सानी भएको छ ।
प्रहरीका अनुसार वर्षासँगै आएको तीव्र हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा घर, गोठ तथा सार्वजनिक संरचनामा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार हावाहुरीले सरकारी तथा निजी संरचनामा गरी करिब २५ लाख ५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।
उनका अनुसार आयुर्वेद केन्द्र र सरकारी वकिलको कार्यालय मा मात्र १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । यस्तै विद्यालयहरूमा चार लाख रुपैयाँ तथा निजी घर र गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
सदरमुकाममा विद्युत अवरुद्ध
हावाहुरीपछि अवरुद्ध भएको विद्युत सेवा आंशिक रूपमा मात्रै पुनः सञ्चालनमा आएको छ । तर सदरमुकाम क्षेत्रको विद्युत आपूर्ति अझै सुचारु हुन सकेको छैन ।नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाट लगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भइसकेको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिका को तल्लो भेगमा पनि विद्युत आपूर्ति पुनः सुरु गरिएको छ । तर हावाहुरीका कारण छथर जोरपाटी गाउँपालिका क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजार क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । धनकुटा नगरपालिका को निगाले क्षेत्रमा एकै स्थानमा सातवटा विद्युत पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।
धनकुटा वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवका अनुसार क्षतिग्रस्त संरचना मर्मत गर्ने काम तीव्र रूपमा भइरहेको छ । सदरमुकाम क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोली खटिएको उनले जानकारी दिए ।