श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज दिउँसो आफ्नो फेसबुक पेजमा आक्रोशपूर्ण स्टेटस पोस्ट गर्दै संसदमा दललाई नदिइएको सुविधामा असन्तोष व्यक्त गरेका छन्।
उनले लेखेका छन् – ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरुले पनि सुविधा नलिनु होला । सुरक्षाकर्मी पनि नलिनू, आफैं हिँड्नु। काम छैन ।’
साम्पाङले किन यस्तो लेखे रु सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । उनकै फेसबुकमा पनि कैयौंले ‘के सुविधा पाउनु भएन र रु’ भन्दै प्रश्न सोधिरहेका छन् । यो समाचार तयार पार्दासम्म उनले जवाफ दिएका छैनन् ।
तर, विषय भने पत्ता लागेको छ । हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्रमुख सचेतक राख्न नपाउने भएको छ । प्रमुख सचेतक राख्न नपाउने भएपछि प्रमुख सचेतकले पाउने सुविधा पनि संसद सचिवालयबाट पाउने कुरै भएन ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति राष्ट्रिय मान्यताप्राप्त दल बनेका छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा पाउने छैनन् ।
ऐनको दफा २ को ९ञ० मा तोकिएको व्यवस्थाका कारण यी दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् । ऐनमा लेखिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’
संसदमा श्रम संस्कृतिले ७ र राप्रपाले ५ सिट जितेका छन् ।