परनिर्भरता बढ्दै जाँदा नेपालको व्यापार घाटा झन् बढ्दो छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार छिमेकी मुलुक भारत, चीनसहित पाँच मुलुकसँग मात्रै नेपालले करिब १० खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
गत फागुन मसान्तसम्म, नेपालले भारतसँग पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँको व्यापार घाटा भोगेको छ । यस अवधिमा भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँको आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
त्यस्तै, चीनसँग नेपालले दुई खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात गर्दा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ ।
नेपालले बढी व्यापार घाटा बेहोरेका अन्य मुलुकहरूमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसिया रहेका छन् । अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ७५ अर्ब रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ४४ अर्ब ४१ करोड र इण्डोनेसियासँग १४ अर्ब रुपैयाँभन्दा बढी छ । समग्रमा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालले करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा कुल आयात १२ खर्ब ८९ अर्ब २५ करोड र निर्यात एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयात १२.५४% र निर्यात २९.८३%ले बढेको देखिन्छ ।
नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकहरूमा रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, र केन्या रहेका छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख रुपैयाँ व्यापार नाफा भएको छ ।
इन्धन आयात सबैभन्दा बढी
समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी रहेको छ । विभागका अनुसार आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल, र ३७ अर्ब ३१ करोड ३७ लाखको एलपी ग्यास आयात भएको छ । त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाखको कच्चा भटमास तेल पनि आयात भएको छ ।
निर्यात प्रमुख वस्तुहरू
नेपालले बढी निर्यात गरेको वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ । यसका साथै अलैँची नौ अर्ब ४९ करोड ६१ लाख, कार्पेट छ अर्ब ५३ करोड ९६ लाख, सूर्यमुखी तेल छ अर्ब २० करोड २३ लाख, र पाम तेल चार अर्ब ३२ करोड रुपैयाँ निर्यात भएको छ ।
खाद्यान्नमा परनिर्भरता बढ्दै
नेपालमा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको देखिएको छ । समीक्षा अवधिमा नेपालले गरेको खाद्यान्न आयातमा धान, चामल र बासमती चामलको कुल आयात २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २४ अर्ब ३६ करोड रुपैयाँको तुलनामा बढेको हो ।