पर्सा क्षेत्र नं. २ का उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका नेता मनोज चौधरीसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।
जिल्ला सरकारी वकील कार्यालय पर्साले बुधबार वीरगंज महानगरपालिका–१७ निवासी ४६ वर्षीय मनोज कुमार चौधरी, पर्सागढी नगरपालिका–३ निवासी ६७ वर्षीय सत्यनारायण दास थारु, बारा प्रसौनी गाउँपालिका–४ निवासी ३२ वर्षीय सहाब आलम अन्सारी (सवारी चालक) र धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी निवासी ३० वर्षीय सुरज कार्कीविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुरमा अभियोग दायर गरेको हो ।
कार्यालयका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग दायर गरिएको हो ।
प्रहरीका अनुसार गत फागुन १९ गते मनोज चौधरी सवार बा.१० च.१२५० नम्बरको कारबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि उनीसहित चारै जनालाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई २१ दिनसम्म हिरासतमा राखी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान सम्पन्न भएपछि प्रहरीले सोमबार फाइल सरकारी वकील कार्यालयमा बुझाएको थियो। सोही आधारमा बुधबार अभियोग दायर गरिएको हो । यस प्रकरणमा आज पर्सा जिल्ला अदालतमा थुनछेक बहस हुने जनाएको छ । यसअघि उक्त घटनालाई लिएर नेता चौधरीलाई फसाउने षड्यन्त्र हुन सक्ने भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो ।
यसका साथै पर्साका विभिन्न राजनीतिक दलहरूले सर्वदलीय बैठक गरी घटनाको निष्पक्ष छानबिनको मागसमेत गरेका थिए ।