नयाँ सरकार गठनसँगै सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि आइतबार खुलेको बजार भने ओरालो लागेको छ ।
प्रारम्भिक कारोबारकै क्रममा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३५ अंकले घट्दै २ हजार ९१४ अंकमा झरेको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा करिब ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१२ बजेसम्म सबै समूहका सूचकहरू घटेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, व्यापार तथा माइक्रोफाइनान्स समूहका सूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।
कारोबारमा १० कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । यद्यपि हालै सूचीकृत केही कम्पनीहरू — रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर — को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बजार घट्नुको मुख्य कारण ‘नाफा बुक’ रहेको ब्रोकरहरू बताउँछन्। गत साता मात्रै बजार ७३ अंकले बढेको थियो भने पछिल्लो एक महिनामा २७७ अंक (१०.३६ प्रतिशत) ले उकालो लागेको थियो ।
गत फागुन १७ गते नेप्से २६७३ अंकमा रहेकोमा आइतबार २९५० अंकबाट बजार खुलेको थियो । ‘नयाँ सरकार बनेको मौकामा धेरैले सेयर बेच्न उपयुक्त समय ठानेर नाफा सुरक्षित गरेका हुन सक्छन्,’ एक ब्रोकर कम्पनीका सञ्चालकले बताए।
उनीहरूका अनुसार बजार प्रायः भविष्यका सम्भावनालाई अघि नै मूल्यांकन गर्छ । ‘परिवर्तन हुनुभन्दा अगाडि बजारले सकारात्मक प्रतिक्रिया देखाउने र परिवर्तनपछि उल्टो प्रतिक्रिया दिने प्रवृत्ति विगतमा पनि देखिएको छ,’ उनले भने ।
अर्कोतर्फ नयाँ सरकार गठनसँगै राजनीतिक गतिविधि बढ्नु, केही नेताहरू पक्राउ पर्नु तथा विरोध प्रदर्शन चर्किन सक्ने आशंकाले पनि लगानीकर्ताको मनोविज्ञानमा असर परेको जानकारहरू बताउँछन् ।
यसैबीच, नेपाल स्टक एक्सचेञ्ज ले हालै मार्जिन कारोबारका लागि कार्यप्रक्रिया तयार गरेको थियो, जसले बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको थियो। तर प्रारम्भिक कारोबारले भने बजार दिनभर नै दबाबमा रहने संकेत देखाएको छ ।