नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क (१) अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
उक्त कानुनी प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित अद्यावधिक विवरण तोकिएको निकायसमक्ष पेश गर्नुपर्ने हुन्छ ।
यही व्यवस्था स्मरण गराउँदै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई समयमै सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, “प्रतिनिधिसभाका माननीय सदस्यहरूले मिति २०८३ जेठ १० गतेसम्म आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा आवश्यक विवरण उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुपर्नेछ ।”
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए ।