सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग बेलाबेलामा खुल्ने र बन्द हुने अवस्थाबाट गुज्रिँदै आएको छ । लामो समय बन्द रहेर भर्खरै क्लिङ्कर उत्पादन सुरु गरेको उद्योग अहिले चरम आर्थिक संकट र अव्यवस्थापनको सिकार बनेको छ ।
बर्सेनि करोडौँ घाटा बेहोरिरहेको उद्योगका कर्मचारीहरूले विगत ९ महिनादेखि तलबसमेत पाएका छैनन् । सवा अर्बभन्दा बढी ऋणमा डुबेको उद्योगप्रति भने देशमा बालेन्द्र शाह ( बालेन ) नेतृत्वको नयाँ सरकार गठन भएसँगै कर्मचारीमा आशा पलाएको छ ।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार पछिल्ला ३ / ४ वर्षदेखि उद्योगले गम्भीर आर्थिक संकट भोगिरहेको छ। हाल उद्योगको कुल दायित्व करिब १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । आर्थिक अभावका कारण सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला लगायत कच्चा पदार्थ खरिद गर्न तथा बिग्रिएका मेसिन मर्मत गर्न नसकिएको अवस्था छ ।
कुनै समय ११०० कर्मचारी कार्यरत रहेको उद्योगमा अहिले मात्र १३६ कर्मचारी बाँकी छन् । कर्मचारी अभावका कारण एकै जनाले दोहोरो–तेहोरो जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता रहेको छ ।
४० वर्ष उद्योगमा काम गरेर अवकाश पाएका कर्मचारीहरूले समेत सेवा सुविधाविना घर फर्किनुपरेको छ भने कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब पाउन सकेका छैनन् । उद्योग सञ्चालनका लागि तत्काल २५ करोड ऋण र पुरानो ऋण व्यवस्थापनका लागि प्रस्ताव मन्त्रालयमा पठाइए पनि हालसम्म कुनै निर्णय भएको छैन ।
उद्योग निरन्तर घाटामा जानुको अर्को कारण पुराना र जीर्ण मेसिन पनि हुन् । ‘किल’ विभागका कर्मचारी रुबिन माझीका अनुसार पुराना मेसिनले उत्पादन कम गर्ने तर विद्युत् खर्च भने अत्यधिक हुने गरेको छ । मासिक ३ करोड ७० लाख रुपैयाँसम्म विद्युत् महसुल तिर्नुपर्ने अवस्था रहेको छ ।
क्षमताभन्दा कम उत्पादन हुँदा सञ्चालन खर्चसमेत उठाउन नसकिएको छ । आधुनिक प्रविधिसहित नयाँ मेसिन जडान गर्न १ अर्ब ६० करोड रुपैयाँको प्रस्ताव मन्त्रालयमा पठाइए पनि त्यसबारे सुनुवाइ भएको छैन। दैनिक २८०० देखि ३००० मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट नभएसम्म उद्योग टिक्न कठिन हुने कर्मचारीहरूको भनाइ छ ।
यसैबीच, उद्योगमा केही आशा पनि पलाएको छ । चुनावअघि फागुन १५ गते चितवनमा आयोजित सभामा बालेन्द्र शाहले हेटौँडा सिमेन्ट उद्योगलाई ‘वाइवाइ चाउचाउ’ जस्तै विश्वभर चिनाउने गरी सञ्चालन गर्ने घोषणा गरेका थिए । अहिले उनकै नेतृत्वमा सरकार बनेपछि कर्मचारीहरू आशावादी बनेका छन् ।
उद्योगमा कार्यरत भूगर्भविद् सविन शर्माका अनुसार पर्याप्त चुनढुंगा र स्रोत हुँदाहुँदै पनि व्यवस्थापन कमजोरी र राजनीतिक हस्तक्षेपका कारण उद्योग थलिएको हो । इन्जिनियर पृष्ठभूमिका बालेन नेतृत्वको सरकारले इच्छाशक्ति देखाए उद्योगलाई पुनः नाफामा लैजान सकिने विश्वास कर्मचारीहरूले व्यक्त गरेका छन् ।