नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि घट्दै ओरालो यात्रामा देखिएको छ। कारोबारको दोस्रो दिन नेप्से ४७.७१ अंकले घटेर २८३१ बिन्दुमा झरेको छ ।
नयाँ सरकार गठन भएयता दुई दिनमै नेप्सेले कुल ११९ अंक गुमाएको छ । अघिल्लो दिन मात्रै ७१ अंकले घटेको थियो । सरकार गठनअघि नेप्से २९५० बिन्दुमा रहेको थियो ।
आज बजार खुलेपछि मध्य समयसम्म केही सम्हालिए पनि त्यसपछि तीव्र रूपमा घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोड रुपैयाँमा सीमित भयो ।
कुल २६ कम्पनीको शेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । सबै समूहगत सूचकहरू घटेका छन् । व्यापार समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशतले घटेका छन् ।
यसबीच ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । साथै सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशतले बढेको छ ।
घट्ने कम्पनीतर्फ सोलु हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । त्यसपछि युनिक नेपाल लघुवित्त ७.२३, सीवाईसी लघुवित्त ६.८६ र मल्टिपर्पज फाइनान्स ४.९३ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी रहेका छन् ।