मुम्बई । रणवीर सिंह अभिनीत फिल्म धुरन्धरः द रिभेन्ज ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ। यो फिल्म बलिउडको इतिहासमै सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ ।
भारतीय मिडियाका अनुसार फिल्मले ११ दिनमै विश्वव्यापी रूपमा १,३५० करोड (भारु) व्यापार गरेको छ। भारतीय बक्स अफिसमा मात्रै यसले ८४६.८७ करोड रुपैयाँ सङ्कलन गरिसकेको छ ।
रिलिजको दोस्रो हप्तामा पनि फिल्मको कमाइको रफ्तार उच्च रहेको छ । मार्च २९ (दोस्रो आइतबार) ६८.१० करोड र मार्च २८ (शनिबार) ६२.८५ करोड रुपैयाँ सङ्कलन गरेको छ। यही गति कायम रहेमा यसले आफ्नो अघिल्लो भाग ‘धुरन्धर’को १,४२८ करोडको रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ ।
हाल बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा दंगल पहिलो स्थानमा रहेको छ। यस फिल्मले आरआरआर र केजीएफ च्याप्टर २ को रेकर्डलाई उछिनेको छ भने पुष्पा २ र बाहुबली २ भन्दा अझै पछि रहेको छ ।
भारतीय घरेलु बक्स अफिसको आधारमा ‘बाहुबली २’ १,४२९ करोडका साथ पहिलो, ‘पुष्पा २’ दोस्रो र ‘धुरन्धरः द रिभेन्ज’ तेस्रो स्थानमा रहेका छन् । ‘दंगल’को विश्वव्यापी कमाइ उच्च भए पनि यसको घरेलु कलेक्सन ५११ करोड मात्र रहेको छ ।
फिल्मको सफलतासँगै निर्देशक आदित्य धर ले पनि नयाँ उपलब्धि हासिल गरेका छन् । उनी लगातार दुई फिल्मबाट १,००० करोडभन्दा बढी कमाउने बलिउडका पहिलो निर्देशक बनेका छन् । यसअघि एस.एस. राजामौली ले ‘बाहुबली’ र ‘बाहुबली २’ मार्फत यस्तो सफलता प्राप्त गरेका थिए ।