नेकपा (एमाले) ले संसदमा आफूलाई एक सजग ‘वाचडग’को भूमिकामा प्रस्तुत गर्ने संकल्प गरेको छ ।
संसदीय दलको नेता चयन भएसँगै नेता रामबहादुर थापा ‘बादल’ले पार्टीले प्रतिपक्षको भूमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका छन् ।
उनका अनुसार एमालेले सदन मात्र होइन, सडक र अदालतका मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने नीति लिएको छ । उनले बिहीबारको संसद बैठक मुख्यतः परिचय आदान–प्रदान र बधाई साटासाटका लागि भएकाले अवरोध नगर्ने स्पष्ट पारे ।
थापाले भने, “भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ। सदन चल्न दिन्छौँ, तर हाम्रा आवाज र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ ।”
उनले सरकारलाई जवाफदेही बनाउन र पार्टीका घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू कार्यान्वयन गराउन एमालेले संसदमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए ।