पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका अब बाहिर जिल्लामा नपठाइने भएको छ ।
नतिजा प्रकाशनलाई छिटो बनाउन कपी जाँच प्रक्रिया जिल्लामै सम्पन्न गर्ने व्यवस्था गरिएको हो । सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्यलाई पूरा गर्न उत्तरपुस्तिका परीक्षण प्रणालीमा परिवर्तन गर्दै पर्सामा स्थानीयस्तरमै मूल्यांकन प्रक्रिया अघि बढाइएको शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्सा ले जनाएको छ ।
इकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार परीक्षा सकिएको तीन दिनभित्र सम्बन्धित विषयको कपी जाँच सक्ने नीति लागू गरिएको छ। उनका अनुसार यस व्यवस्थाले विगतमा देखिने ढिलाइ घटाउने अपेक्षा गरिएको छ।
चार वटा परीक्षण केन्द्र तोकिए
पर्सामा कपी परीक्षणका लागि चारवटा सरकारी विद्यालयलाई केन्द्र तोकिएको छ । ती केन्द्रहरूमा नृसिंह माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, श्री नेरा मावि श्रीपुर र त्रिजुद्ध माध्यमिक विद्यालय रहेका छन् ।
परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका सोही केन्द्रमा पठाइनेछ र छनोट गरिएका विषयगत शिक्षकले मूल्यांकन गर्ने व्यवस्था मिलाइएको छ ।
५५ जना विषयगत शिक्षक परिचालन
इकाइ समितिका अनुसार प्रत्येक विषयका लागि ५५ जना विषयगत शिक्षक छनोट गरिएको छ । उनीहरूलाई तीन दिनभित्र कपी जाँच सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ ।
मोतीप्रसाद भट्टराईका अनुसार, “छनोट गरिएका शिक्षकहरूले तीन दिनभित्र कपी जाँच सक्नुपर्ने व्यवस्था गरिएको छ ।”
कडा सुरक्षा र निगरानी व्यवस्था
उत्तरपुस्तिका जाँच गर्ने शिक्षकको मोबाइल बाहिर राख्ने तथा बाहिरी सम्पर्कमा रोक लगाउने कडा नीति अपनाइएको छ । यसले मूल्यांकन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमै कपी परीक्षण गर्ने नयाँ मोडेलले समय बचत हुनुका साथै नतिजा छिटो सार्वजनिक गर्न सहयोग पुग्ने र शिक्षकहरूको प्रत्यक्ष संलग्नताले प्रणाली थप प्रभावकारी हुने विश्वास गरिएको छ ।