देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बारामा ठूलो संख्यामा परीक्षार्थी अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार जिल्लामा कुल १ हजार ७ सय ६४ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् ।
कार्यालयका अनुसार अनिवार्य अंग्रेजी विषयको परीक्षामा साधारणतर्फ नियमितका ९५ जना, ग्रेडवृद्धिका १ हजार ६ सय १३ जना, प्राविधिकतर्फ नियमितका ४ जना र ग्रेडवृद्धिका ५२ जना अनुपस्थित रहेका हुन् ।
निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार जिल्लामा रहेका १०२ सामुदायिक र ५३ संस्थागत विद्यालयका कुल १० हजार ८ सय १३ परीक्षार्थीमध्ये पहिलो दिन ९ हजार ५० जना मात्र परीक्षामा सहभागी भएका छन् ।
यस वर्ष एसईई परीक्षा बारामा ३० वटा परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको छ । परीक्षा तालिका अनुसार चैत २० गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ ।