सरकारले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) ले शुक्रबार नियमित कारोबार सञ्चालन गर्ने भएको छ ।
नेप्सेका एक सञ्चालकले भने, “सरकारले विदा दिएपछि आइतबार बजार बन्द हुन्छ, तर शुक्रबार बजार खोलिनेछ । विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ । शुक्रबार खोल्न कुनै समस्या छैन, प्रक्रिया पूरा गरेपछि मात्र हुन्छ ।”
यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी कार्यालयलाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला साताको पाँच दिन बजार खुल्ने व्यवस्था गरिएको थियो ।
यसपटक पनि बजार साताको पाँच दिन सञ्चालन हुने गरी नयाँ व्यवस्था लागू गर्ने तयारी गरिएको छ। हालसम्म शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको थियो ।
आजै मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।