अर्थमन्त्री Swarnim Wagle ले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन् । आर्थिक पत्रकार समाज ( सेजन )का पदाधिकारीसँग भएको भेटमा उनले बजारमा त्रास फैलाइएको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरे ।
सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले अनैतिक कार्य गर्नेलाई मात्र कानुनबमोजिम कारबाही हुने बताए ।
“सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ,” उनले भने, “पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, स्पष्ट कर प्रणाली तथा कारोबार ट्र्याक गर्न सकिने भएकाले यो विश्वसनीय छ ।”
उनका अनुसार सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको छ । तर इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन जस्ता अनैतिक गतिविधिमा संलग्नलाई भने कानुनअनुसार कारबाही गरिनेछ ।
अर्थमन्त्री वाग्लेले हाल लगानीकर्ताले प्यानिक हुनुपर्ने अवस्था नरहेको भन्दै आगामी दिनमा बजार सुधारका लागि पहल गरिने बताए। Nepal Stock Exchange ( नेप्से ) को पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उनले जानकारी दिए ।
उनले Rastriya Swatantra Party को बाचापत्रमा उल्लेखित बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए ।
“सेयर बजारमा फेरि सुनौला दिन आउनेछन्,” उनले भने, “अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु हो ।”
सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसम्बन्धी अनुसन्धान प्रमाणका आधारमा अघि बढाइएको स्पष्ट पार्दै उनले संस्था वा व्यक्तिलाई लक्षित गरेर कारबाही गर्ने सरकारको कुनै नियत नरहेको बताए ।
“हामी खुला बजार अर्थनीति मान्छौँ, तर त्यसको अर्थ छाडा अर्थतन्त्र होइन,” उनले भने, “कानुनअनुसार नै प्रक्रिया अघि बढ्छ, न्याय निरूपण अदालतबाट हुन्छ ।”