नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले भदौ २३ र २४ गते सिंहदरबारलगायतका स्थानमा भएका आगजनी तथा तोडफोड घटनाको सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताएकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले उक्त घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरिन् ।
उनले नवयुवालाई गलत ढंगले परिचालन गरी सिंहदरबारजस्ता महत्वपूर्ण संरचनालाई खण्डहर बनाइएकोप्रति आफू भावविह्वल भएको उल्लेख गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् ।
झाँक्रीले सरकारप्रति आलोचना गर्दै यस्ता गम्भीर विषयलाई ‘कार्पेटमुनि धुलो लुकाएजस्तै’ ढाकछोप गरेर सबै ठीकठाक भएको देखाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् ।
उनले प्रश्न उठाउँदै भनिन्, “भदौ २३ र २४ गतेको आन्दोलन शान्तिपूर्ण थियो कि हिंसात्मक ? यसको जिम्मेवारी कसले लिन्छ ? सिंहदरबार जलाउन उक्साउने र त्यसका लागि मानिस परिचालन गर्ने को हुन् ? यसको जवाफ खोजिनुपर्छ ।”
उनले राज्यविरुद्ध जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुन नदिन पनि सचेत गराइन् । साथै, यस्तो घटनाको निष्पक्ष छानबिन ढिलो नगरी तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिन् ।