बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटमा अनौठो दृश्य देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल स्वयं नागरिकता फाँटमा बसेर सेवा प्रवाह गरिरहेका थिए । पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जाँदा नागरिकता फाँटमा अत्यधिक भीडभाड हुन थालेपछि प्रजिअ भुसाल आफैँ फाँटमा खटिएर सेवा प्रवाहलाई व्यवस्थित बनाउन सक्रिय भएका हुन् ।
कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको उच्च उपस्थिति देखिएपछि सेवामा कुनै अवरोध वा असहजता नहोस् भन्ने उद्देश्यले उनले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गर्दै सहजीकरण गरेका थिए ।
उनको उपस्थितिले नागरिकता फाँटमा देखिएको अव्यवस्था नियन्त्रणमा आउनुका साथै सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा प्राप्त हुन थालेको सेवाग्राहीहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै काम सकाएर फर्काउने उद्देश्यले प्रजिअ स्वयं फाँटमा बसेर काम गरिरहेका छन् । “सेवा लिन आउने नागरिकलाई कुनै समस्या नहोस् भन्ने हिसाबले उहाँले प्रत्यक्ष निगरानी र सहजीकरण गरिरहनु भएको छ,” साहले भने ।
प्रजिअको सक्रियताप्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीय राजकुमार गुरागाईले बताए । प्रशासनको यस प्रकारको पहलबाट सरकारी सेवाप्रति नागरिकको विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ ।