नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमलाई ठूलो घाटा भइरहेको भन्दै नयाँ मूल्य समायोजन गरिएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँले वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० रुपैयाँदेखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० रुपैयाँदेखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा भइरहेको छ । हाल पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
निरन्तर घाटाका कारण भारतीय आयल कर्पोरेसन (IOC) लाई भुक्तानीमा समस्या आउन सक्ने र आपूर्ति व्यवस्थापनमा असर पर्ने भन्दै मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
नयाँ समायोजनअनुसार एलपी ग्यास ( १४.२ केजी ) को मूल्य २,०१० रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन ( आन्तरिक ) प्रति लिटर ६ रुपैयाँले वृद्धि गरिएको छ ।