नेपाल आयल निगमले लगातार चौथोपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले दुई दिनअघि पेट्रोलियम पदार्थमा लाग्ने भन्सार र पूर्वाधार कर ५० प्रतिशत घटाएपछि मूल्य घट्ने आशा गरेका उपभोक्तामाथि निगमले पुनः मूल्य वृद्धिको भार थपेको हो । निगमले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ र डिजेल तथा मट्टीतेल २०७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २,०१० रुपैयाँ कायम गरिएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको सन्दर्भमा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वाभाविक मानिए पनि कर घटाइएपछि उपभोक्ताले राहतको अपेक्षा गरेका थिए । सरकारले पेट्रोलमा लाग्दै आएको भन्सार शुल्क २५ रुपैयाँ २३ पैसाबाट घटाएर १२ रुपैयाँ ६३ पैसा र डिजेलमा १२ रुपैयाँ ३ पैसाबाट ६ रुपैयाँ ३ पैसा कायम गरेको थियो । त्यस्तै, पूर्वाधार कर पनि प्रतिलिटर १० रुपैयाँबाट घटाएर ५ रुपैयाँमा झारिएको थियो ।
सरकारले मध्यपूर्व तनावका कारण कच्चा तेलको मूल्य वृद्धिको असर उपभोक्तासम्म कम पुगोस् भन्ने उद्देश्यले कर घटाएको जनाएको थियो । तर, त्यसको केही दिनमै पुनः मूल्य वृद्धि भएपछि उपभोक्तामा असन्तुष्टि देखिएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कर घटाउनुअघि निगमको १५ दिनको घाटा ११ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । कर समायोजनपछि घाटा केही घटे पनि अझै १५ दिनमा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था कायम रहेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले निगमले खरिद गर्ने लागत उच्च भएको उनको भनाइ छ ।
नेपालले आवश्यक सबै पेट्रोलियम पदार्थ भारतको इन्डियन आयल कर्पोरेसनबाट खरिद गर्दै आएको छ, जसले प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गर्छ । कर घटाउनु अघिसम्म डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा ३४ रुपैयाँ घाटा रहेको थियो । कर घटेपछि डिजेलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र पेट्रोलमा १६ रुपैयाँ ६५ पैसा घाटा कायम भएको छ । यस्तो अवस्थामा इन्धन आपूर्ति सहज राख्न र भारतीय आयल निगमलाई भुक्तानी गर्न समस्या नहोस् भन्ने उद्देश्यले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ । हालको मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा करिब ७ अर्ब ८१ करोड रुपैयाँमा झर्ने अनुमान गरिएको छ ।
मध्यपूर्व तनावपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९ डलरबाट बढेर १०९ डलरसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै आयात मूल्य पनि बढ्ने भएकाले त्यसको असर नेपालमा स्वतः पर्ने गरेको छ । आयल कर्पोरेसनले कच्चा तेलको लागत, प्रशोधन शुल्क, ढुवानी खर्च र अन्य कर जोडेर नेपालका लागि मूल्य निर्धारण गर्ने गर्छ भने निगमले त्यसमा आन्तरिक खर्च र कमिसन थपेर उपभोक्ता मूल्य तय गर्ने गर्दछ ।
निगमका अनुसार हाल पनि लागतअनुसार पूर्ण रूपमा मूल्य समायोजन गरिएको छैन, घाटा कम गर्न सीमित वृद्धि मात्रै गरिएको हो ।