सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षको तुलनामा दुवै बालीको मूल्यमा वृद्धि गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ कायम गरिएको छ, जुन गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी हो ।
त्यसैगरी चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी हो ।
गत वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा र चैते धानको मूल्य २ हजार ८०० रुपैयाँ ६९ पैसा कायम गरिएको थियो ।
मन्त्रालयका अनुसार चैते धानको समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि चिस्यान मात्रा १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २०० ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।
किसानलाई उत्पादनमा प्रोत्साहन दिन र बजारमा उचित मूल्य सुनिश्चित गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।