वीरगंज महानगरपालिका–पानीट्यांकीस्थित डायमण्ड पार्टी प्यालेसमा एसईई ब्याच–२०८२ का विद्यार्थीहरूको भव्य विदाइ कार्यक्रम (फेयरवेल प्रोग्राम) उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
कञ्चनजंघा स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हरि पन्तले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको बताए । उनले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पणका साथ अघि बढ्न आग्रह गर्दै भने, “आजको विदाइ अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो । जहाँ गए पनि आफ्नो विद्यालय, समाज र देशको नाम उज्ज्वल बनाउने गरी अघि बढ्नुस् ।”
कार्यक्रम कञ्चनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बुढाथोकीले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कक्षा १० का विद्यार्थीहरूलाई सफलताको कामना गरे ।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, विद्यालयका निर्देशक मार्टिन मोक्तान, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, विजय बल लगायत विशिष्ट व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले र्याम्प वाक, गीत–संगीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो ।
विदाइ कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका मधुर सम्झनाहरू साटासाट गर्दै भावुक बनेका थिए । उनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभेच्छा व्यक्त गरिएको थियो ।
कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, सम्मान र सम्बन्धलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ ।