पर्साको पोखरिया नगरपालिका–७ स्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा नयाँ शैक्षिक भवन निर्माण कार्य सुरु गरिएको छ । करिब ७ करोड २५ लाख रुपैयाँ लागतमा बन्ने तीन तल्ले आधुनिक भवनको मंगलबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा आधारशिला राखेका थिए। उक्त परियोजना नेपाल–भारत विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत कार्यान्वयनमा ल्याइएको हो ।
परियोजनाअनुसार कुल लागतमध्ये ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारको अनुदानबाट तथा बाँकी ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाको लगानीमा निर्माण कार्य अघि बढाइएको छ । निर्माण सम्पन्न भएपछि विद्यालयमा दुईवटा तीन तल्ले भवन रहनेछन्, जसमा १२ वटा कक्षाकोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र भोजनालयलगायतका आधुनिक सुविधा उपलब्ध हुनेछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत देवी सहाय मिनाले नेपालको समग्र विकासमा भारत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले “छिमेकी पहिलो” नीतिअनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा भारतले सहयोग गर्दै आएको उल्लेख गरे ।
उनका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू नेपाल–भारत विकास सहकार्यको महत्वपूर्ण हिस्सा हुन्, जसले विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, सिँचाइ तथा अन्य आधारभूत संरचनाको विकासमार्फत स्थानीय जीवनस्तर उकास्न सहयोग पुर्याउँदै आएका छन् ।
मधेश प्रदेशमा मात्र भारत सरकारले हालसम्म ८७ वटा परियोजना स्वीकृत गरिसकेको छ, जसमध्ये ६१ सम्पन्न भइसकेका छन् भने २६ निर्माणाधीन छन् । तीमध्ये शिक्षा क्षेत्रमा सबैभन्दा बढी परियोजना रहेका छन्। साथै भारत सरकारले नेपालभर १०४९ एम्बुलेन्स र ३८१ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।
हाल करिब २४०० विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा नयाँ भवन निर्माणपछि शैक्षिक वातावरण थप सुधार हुने विश्वास गरिएको छ। सुरक्षित र सुविधासम्पन्न पूर्वाधारले विद्यार्थीको सिकाइ स्तर उकास्ने अपेक्षा गरिएको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।