पछिल्लो समय बजारमा केराको मूल्य करिब दोब्बर बढेको छ । गत वर्ष प्रतिदर्जन औसत १५० रुपैयाँमा पाइने केरा अहिले थोक बजारमै २२५ रुपैयाँसम्म पुगेको व्यवसायीहरूले बताएका छन् ।
कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँका अनुसार थोक मूल्य नै उच्च भएकाले खुद्रा बजारमा यसको असर अझ बढी देखिएको छ । हाल खुद्रा बजारमा एक दर्जन केरा २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
उनका अनुसार भारतीय केरामा लगाइएको प्रतिबन्धका कारण बजारमा आपूर्ति घट्दा मूल्य बढेको हो । यद्यपि, पछिल्ला केही महिनादेखि अवैध रूपमा केरा भित्रिने क्रम भने जारी रहेको उनको भनाइ छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रोशन अधिकारीका अनुसार ‘टीआर–४’ रोगको जोखिमका कारण असोज २ गतेदेखि नै केराको आयातका लागि प्रवेश अनुमति पत्र दिन बन्द गरिएको छ ।
उनले ‘बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४’ अनुसार आयातित बिरुवा तथा उपजका लागि अनिवार्य अनुमति आवश्यक पर्ने बताए । चितवनसहित अन्य जिल्लामा यस रोग देखिएपछि यसको स्रोत पहिचान गर्न आयात रोकिएको हो।
उनका अनुसार यसअघि २०८० सालमा कैलाली र नवलपरासीका केरा फार्ममा पनि उक्त रोग देखिएको थियो, जसलाई नियन्त्रणका लागि नष्ट गरिएको थियो। रोग व्यापक रूपमा फैलिएको अवस्थामा देशभरको केरा बाली नै जोखिममा पर्ने चेतावनी दिइएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार काठमाडौँ बजारमा हाल करिब ५० प्रतिशत केरा भारतीय रहेको अनुमान छ । अन्य सहरहरूमा भने स्वदेशी केरा नै बढी बिक्री भइरहेको उनले बताए ।
नेपालमा वार्षिक करिब ३ लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ भने करिब ६० हजार मेट्रिक टन केरा भारतबाट आयात हुँदै आएको थियो ।
ढुंगानाका अनुसार साउनदेखि कात्तिकसम्म स्वदेशी उत्पादन बढी हुने हुँदा बिक्रीमा समस्या हुने गर्छ भने मंसिरदेखि फागुनसम्म उत्पादन घट्ने र खपत पनि कम हुने गर्छ ।
हालको अवस्थामा किसानले राम्रो मूल्य पाए पनि उपभोक्ताले उच्च मूल्य तिर्न बाध्य भएका छन् । आपूर्ति असन्तुलन र नियन्त्रणको अभावका कारण बजारमा मूल्य वृद्धि भएको सरोकारवालाहरू बताउँछन्