पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (प्रशा.अ.) परिवर्तन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैको निर्णयअनुसार पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत खटाएको हो ।
मन्त्रालयले पोखरिया नगरपालिकामा उपसचिव शेखर पौड्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएको छ । यसअघि गृह मन्त्रालयमा कार्यरत पौड्याललाई प्रशासनिक अनुभवका आधारमा नयाँ जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । पोखरियामा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कौशल झा कार्यरत थिए ।
त्यसैगरी, बहुदरमाई नगरपालिकामा उपसचिव रमेश अधिकारीलाई खटाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकारीलाई स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिम्मेवारी दिइएको हो । यसअघि सो नगरपालिकामा वृजकिशोर प्रसाद प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।
यस्तै, कालिकामाई गाउँपालिकामा केशव कुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यहाँ कार्यरत रहेका राज कुशवाहालाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने अतिरिक्त समूहमा रहेका अधिकारीलाई कालिकामाई पठाइएको मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत ३० गते २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअन्तर्गत पर्साका यी तीन स्थानीय तहमा पनि नयाँ प्रशासकीय अधिकृत खटाइएको हो ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका सेवा प्रवाह, विकास निर्माणको अनुगमन तथा प्रशासनिक संयोजनमा महत्वपूर्ण हुने भएकाले नयाँ नियुक्तिले कामकाजमा गतिशीलता आउने अपेक्षा गरिएको छ । स्थानीय जनप्रतिनिधि र सेवाग्राहीहरूले समेत नयाँ अधिकृतमार्फत पारदर्शिता, तीव्र सेवा प्रवाह र सुशासन प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् ।