काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गाएको करिब १२ वर्ष पुरानो ‘र्याप ब्याटल’ युट्युबबाट हटाउन माग गर्दै परेको उजुरीमा साइबर ब्युरोले प्राविधिक टिममार्फत अनुसन्धान सुरु गरेको जनाएको छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै उक्त र्याप ब्याटल हटाउनुपर्ने मागसहित शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गरिएको हो ।
उक्त उजुरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पूर्व संविधानसभा सदस्य सुनिलबाबु पन्तले इमेलमार्फत दिएका थिए । उजुरी दर्ता भएसँगै प्राविधिक टिमले प्रारम्भिक अध्ययन गरिरहेको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन् ।
“उजुरी दर्ता भइसकेपछि हाम्रो टेक्निकल टिमले आवश्यक अध्ययन गरिरहेको छ, अनुसन्धान प्रक्रिया जारी छ,” उनले बताए ।
शनिबार र आइतबार कार्यालय बन्द भएकाले थप प्राविधिक काम अघि बढ्न नसकेको र सोमबारदेखि अनुसन्धानलाई तीव्रता दिइने साइबर ब्युरोले जनाएको छ ।
एसपी गिरीका अनुसार उजुरीमा उल्लेख गरिएजस्तै समुदाय लक्षित आपत्तिजनक शब्द भेटिएमा सम्बन्धित सामग्री युट्युबबाट हटाउन माग गरिनेछ । तर, अहिले नै अन्तिम निर्णय गर्न नसकिने उनले स्पष्ट पारे ।