अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वीरगंज महानगरपालिका–१, छपकैया स्थित फोहोर पानी प्रशोधन केन्द्र दुरुपयोग प्रकरणमा महानगरका मेयरसहित ८ जनालाई बयानका लागि बोलाएको छ ।
वीरगंजकाे फोहोर पानी प्रशोधन गर्न बनाएकाे केन्द्र बन्द गरी व्यक्तिगत लाभका लागि माछा तथा बाख्रापालन गरिएको उजुरीका आधारमा आयोगले अनुसन्धानलाई तीव्र बनाएको हो । करिब दुई वर्षदेखि केन्द्र सञ्चालनमा नरहेको र संरचनाको दुरुपयोग भइरहेको तथ्य बाहिरिएपछि अख्तियार सक्रिय भएर उजुरी परेकाे ६ महिनापछी ब्यानका लागि बाेलाएकाे जनाइएको छ ।
एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र महानगरपालिकाको करिब १२ करोड रुपैयाँ संयुक्त लगानीमा निर्माण गरिएको सो केन्द्र १० बिघा क्षेत्रफलमा फैलिएको छ । सञ्चालनविहीन अवस्थामा रहेको केन्द्रका चारवटै पोखरीमा माछापालन तथा परिसरमा बाख्रापालन गरिएको अख्तियारले छापामारीकाे क्रममा पाएको थियाे ।
२०८२ असोज २९ गते अख्तियारको टोलीले उक्त स्थानमा छापा मारी स्थलगत निरीक्षणको क्रममा एशियाली विकास बैंककाे सहयाेगमा निर्मित सरकारी सम्पत्तिको दुरुपयोग गरेर व्यक्तिगत रूपमा माछापालन गरी दुरूपयाेग गरेकाे प्रारम्भिक अनुसन्धानमा देखिएकाे थियो ।
आयोगले मिति २०८३ वैशाख २ गते चलानी नम्बर ३९१४/५६६१५ मार्फत पठाएको ‘अत्यन्त जरुरी गोप्य’ पत्र वैशाख ७ गते महानगरमा दर्ता भएको छ । महानगरका सूचना अधिकारी सुनिल कर्णले पत्र प्राप्त भएको पुष्टि समेत गरेका छन् ।
अख्तियारको निर्देशनअनुसार नगर प्रमुख राजेशमान सिंहलाई वैशाख १४ गते बिहान १० बजे बयानका लागि बोलाइएको छ । त्यस्तै वडा नं. १ की सदस्य रमावती देवी पासवानलाई वैशाख ९ गते उपस्थित हुन भनिएको छ ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, लेखा अधिकृतद्वय रूप नारायण राउत र राम कुमार कुशवाहा, इन्जिनियर अवधेश प्रसाद कुशवाहा तथा परियोजना व्यवस्थापकहरू नगीना कुमार यादव र शैलेन्द्र श्रेष्ठ लाई वैशाख १० गते बिहान १० बजे हेटौंडास्थित अख्तियार कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । सबैलाई नागरिकता र पासपोर्ट साइज फोटोसहित अनिवार्य उपस्थित हुन भनिएको छ। तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यस घटनाले सार्वजनिक लगानीमा निर्माण गरिएका संरचनाको प्रभावकारी सञ्चालन तथा अनुगमनमा देखिएको कमजोरीलाई उजागर गरेको छ । स्थानीय तहभित्र संस्थागत बेथिति, पदीय दुरुपयोग र सार्वजनिक सम्पत्तिको संरक्षणबारे गम्भीर प्रश्न उठेपनी महानगरमा हालसम्म कुनै कसैलाई कार्वाहि भएकाे देखिन्न ।