सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा मोटरबोटमा सवार अन्य यात्रु नदीमा डुबेर बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको हो। मृतक तीनै जनाको शव चतरा अस्पतालमा राखिएको उनले जानकारी दिए ।
मोटरबोटमा करिब डेढ दर्जन यात्रु सवार रहेको बताइएको छ। मोटरबोट दुर्घटनामा परेपछि धेरै यात्रु सप्तकोशी नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको छ ।
प्रारम्भिक अनुमानअनुसार मोटरबोट सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगरिएको हुन सक्ने आशंका गरिएको छ। स्थानीयले सञ्चालकले प्रशासनको अनुमति नलिई मोटरबोट सञ्चालन गरेको र क्षमताभन्दा बढी यात्रु चढाएको आरोपसमेत लगाएका छन्। यद्यपि, यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
घटनाको विस्तृत विवरण तथा दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको छ ।