आरक्षणको मुद्दामा सुप्रीम कोर्टको क्रीमी लेयरसम्बन्धी फैसलाका विरुद्ध बुधबार देशभरका २१ संगठनहरूले भारत बन्दको आह्वान गरेका छन् ।
आरक्षण बचाओ संघर्ष समितिले अनुसूचित जाति तथा जनजातिका लागि भारत बन्दको आह्वान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । राजद, बसपा, जेएमएम र भीम आर्मी लगायतका विभिन्न विपक्षी पार्टीहरूले बन्दलाई समर्थन जनाएका छन् । पटना सहरमा भारत बन्दको व्यापक असर देखिएको छ । विशेष गरी डाक बंगला क्षेत्रमा प्रदर्शनकारीहरूको भीड जम्मा भएको छ ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रवेश गरेपछि तनाव बढेको सञ्चारमाध्यमहरुले लेखेको छ । प्रदर्शनकारीहरूले सडकमा रहेका निजी गाडीहरु समेत तोडफोड गरेका छन् भने, निजी सम्पत्तिमा समेत क्षति पुर्याएका छन् । यसको प्रतिक्रियामा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ ।

प्रदर्शनका क्रममा पटना डाक बंगला क्षेत्र केही बेरका लागी रणभूमिमा परिणत भएको थियो । झडपका क्रममा प्रहरीले गल्तीले एसडीएमलाई समेत लाठी हान्न पुगेको छ । डाक बंगला क्षेत्रको यातायात पूर्णरूपमा ठप्प भएको छ भने सुरक्षाका लागि वाटर क्यानन टोलीलाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
