रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ ।
पछिल्ला दिनहरूमा निर्माण कार्य थप ढिलाइ भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्ण का अनुसार पर्याप्त बजेट अभावका कारण पुल निर्माणले गति लिन सकेको छैन । उहाँका अनुसार गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधीन पुलका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिएको छ । निर्माण कम्पनीले रनिङ बिल पेस गरेअनुसार करिब चार करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उहाँले बताउनुभयो ।
“पुल निर्माणका लागि चालु आर्थिक वर्षमा छुट्याइएको दुई करोड रुपैयाँ खर्च भइसकेको छ । निर्माण कम्पनीले पेस गरेको बिलअनुसार करिब चार करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ,” प्रमुख कर्णले भन्नुभयो । कार्यालयका अनुसार पुलका छ स्पानमध्ये पाँच स्पानको ढलान कार्य सम्पन्न भइसकेको छ । बाँकी काम भने बजेट अभावका कारण अघि बढ्न सकेको छैन । टिकुलियाघाट पुल भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपैयाँ लागतमा निर्माण गर्ने गरी २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभी सँग सम्झौता गरिएको थियो । २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीका प्रोपाइटर रामसागर चौरसिया ले सामग्रीको मूल्य वृद्धि र भुक्तानी नहुँदा काम सुस्त भएको बताउनुभयो । उहाँले सम्पन्न कामको रनिङ बिल पेस गरे पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो ।
“करिब चार करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ, तर भुक्तानी पाएका छैनौँ,” उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालयका अनुसार पुलको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति र २१.३३ प्रतिशत आर्थिक प्रगति भएको छ । कार्यालय प्रमुख कर्णले समयमै निर्माण सम्पन्न गर्न आवश्यक बजेट माग गरिए पनि मन्त्रालयबाट बजेट निकासा ढिलो भइरहेको गुनासो गर्नुभयो । यसअघि यही पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन ले लिएको थियो । २०७१ असार २९ गते सम्झौता भएको उक्त योजना २०७४ असार २५ भित्र सम्पन्न गर्नुपर्ने थियो ।
तर समयमै काम पूरा नभएपछि २०८० असार १५ गते ठेक्का तोड्दै कम्पनीलाई कालोसूचीमा राखिएको थियो ।