सखुवाप्रसौनी गाउँपालिकाले नयाँ शैक्षिकसत्र सुरू भएसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिका शिक्षा समितिले पालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत करिब २५ जना शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरेको हो ।
गाउँपालिकाले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउन उक्त निर्णय गरिएको जनाएको छ । शिक्षा शाखाका अनुसार विद्यालयको आवश्यकता, शिक्षकको शैक्षिक योग्यता तथा अनुभवलाई आधार मानेर जिम्मेवारी हेरफेर गरिएको हो ।
लामो समयदेखि एउटै विद्यालयमा कार्यरत केही शिक्षकलाई नयाँ विद्यालयमा सरुवा गरिएको छ भने योग्यता र क्षमताका आधारमा केही शिक्षकलाई उच्च तहमा अध्यापन गराउने अवसर प्रदान गरिएको छ । विशेषगरी प्राथमिक तहमा कार्यरत तर माध्यमिक तहसम्म अध्यापन गर्न सक्षम शिक्षकहरूलाई माथिल्लो तहमा व्यवस्थापन गरिएको शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखा प्रमुखका अनुसार यस निर्णयबाट शिक्षकको क्षमता र दक्षताको प्रभावकारी उपयोग हुने तथा विद्यार्थीले योग्य र दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा पाउने अपेक्षा गरिएको छ । साथै केही विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसमेत दिइएको छ ।
स्थानीय अभिभावकहरूले लामो समयदेखि एउटै विद्यालयमा एउटै शिक्षक रहँदा शैक्षिक वातावरणमा नवीनता नआएको तथा गुणस्तरमा असर परेको गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै विद्यालयमा नयाँ ऊर्जा र सुधार ल्याउने उद्देश्यले यो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।
सखुवाप्रसौनी गाउँपालिकामा ६ वटा वडा रहेका छन् । पालिकाभित्र हाल २९ वटा विद्यालय सञ्चालनमा छन्, जसमा ५ वटा माध्यमिक, ४ वटा निम्न माध्यमिक र २० वटा प्राथमिक विद्यालय रहेका छन् ।
गाउँपालिका अध्यक्ष यशवन्त यादव ले गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै शिक्षा क्षेत्रमा सुधारका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा निरन्तर सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।
नयाँ सरुवा तथा दरबन्दी मिलानलाई शैक्षिक सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ । यसबाट आगामी दिनमा विद्यालयहरूको शिक्षण वातावरण र शैक्षिक गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ ।