तिलाठी कोईलाडी गाउँपालिका–६ बभनगामा टोलमा भएको भीषण आगलागीपछि आइतबार बिहानदेखि अग्निपीडितहरू आफ्ना केही सम्पत्ति जोगिएको आशामा खरानीमा खोजतलास गरिरहेका छन् ।
आगलागीबाट जोगिएको केही सुन, चाँदीका गरगहना तथा नगद भेटिने आशामा पीडित परिवारहरू घरको आँगनमा थुप्रिएको खरानी र माटोमा खोजिरहेका दृश्य देखिएका छन् । शनिबार साँझ करिब ७ बजे भएको आगलागीमा स्थानीय जुगाई यादव, जोगीन्द्र यादव, गीरिजा यादव, पिंकी कुमारी यादव, राजेन्द्र यादव, धिरेन्द्र यादव, राजकुमार यादव, रामअवतार यादव लगायत १० परिवारका करिब २० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
स्थानीयका अनुसार टोलका अधिकांश पुरुष छिमेकी टोलमा एक विवाह कार्यक्रममा गएका बेला अचानक आगलागी सुरु भएको थियो । विद्युत सर्ट भएर जुगाई यादवको गाईगोठबाट आगो सल्किएको र तत्काल नियन्त्रण गर्न नसकिँदा आगो फैलिएको बताइएको छ ।
आगो निभाउन स्थानीय बासिन्दासँगै हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र का बारुण यन्त्र तथा प्रहरी टोली परिचालन गरिएको थियो । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।
प्रहरीका अनुसार आगलागीबाट लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, सुन–चाँदीका गरगहना तथा नगदसहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यद्यपि क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरी ले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिनुभएको छ ।
यसैबीच, सप्तरी उद्योग वाणिज्य संघ ले अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । संघले प्रति परिवार चामल २५ केजी, भुजा ३ केजी, दाल २ केजी, खाने तेल २ लिटर, नुन २ केजी, पानी १ कार्टुन, त्रिपाल १ थान र आलु १० केजी उपलब्ध गराएको हो ।
त्यसैगरी अर्को आगलागी घटनामा रूपनी गाउँपालिका–१ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आइतबार बिहान आगलागी हुँदा करिब १ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।