सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।
सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले ऊर्जा क्षेत्रमा व्यापक सुधार र लगानी विस्तारमार्फत उक्त लक्ष्य हासिल गरिने बताएका हुन् ।
राष्ट्रपति पौडेलले भने, “आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिनेछ ।”
नीति तथा कार्यक्रममा ऊर्जा आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकलाई नगद मुआब्जाको सट्टा सेयर उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक विद्युत् खपतमा व्यापक वृद्धि गर्ने तथा अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतामार्फत दीर्घकालीन लगानी आकर्षित गरिने सरकारको योजना रहेको छ ।
सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक विकास, औद्योगिकीकरण र निर्यात वृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत गरेको छ ।